Section 109
संगठित संस्था स्वामित्वमा लिने वा संगठित संस्थामाथिको नियन्त्रण सम्बन्धी व्यवस्था
(१) कुनै संगठित संस्थालाई पूर्णरुपमा स्वामित्वमा लिने वा सो संगठित संस्थाको व्यवस्थापनमा नियन्त्रण गर्ने प्रयोजनको निमित्त कुनै व्यक्ति वा व्यक्तिहरुको समूह वा संगठित संस्थाले एकमुष्ट वा पटक पटक गरी त्यस्तो संगठित संस्थाको शेयर खरिद गर्ने भएमा त्यस्तो शेयर खरिद बिक्री सम्बन्धी कारोबार पारदर्शी किसिमबाट गर्नु पर्नेछ । (२) कुनै व्यक्ति वा व्यक्तिहरुको समूह आपसमा मिली वा कुनै संगठित संस्थाले कुनै संगठित संस्थाको पचास प्रतिशत वा बोर्डले तोकिदिएको प्रतिशतभन्दा बढी शेयर खरिद गर्ने वा स्वामित्वमा लिने भएमा उपदफा (१) को प्रयोजनको निमित्त व्यवस्थापनमा नियन्त्रण गरेको मानिनेछ । (३) उपदफा (१) बमोजिम संगठित संस्थाको पूर्ण स्वामित्व प्राप्त हुने गरी वा संगठित संस्थाको व्यवस्थापनमाथि नियन्त्रण हुने गरी संगठित संस्थाको शेयर बिक्री सम्बन्धी प्रस्ताव राख्ने तरिका, शेयर खरिद बिक्री प्रक्रिया तथा तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।